• Follow Us on:
  • Facebook Logo
  • Tweeter Logo
  • linkedin logo
ad image

Hindi Nepali Stories

Nepali Story भाँडो

‘भुजा खाने होइन ?’ श्रीमतीजीको मायालु पुकार ।

‘आज खाने मन छैन ।’ श्रीमान्जीको महाबौद्धको झुसिलो डकार । आज उनले महाबौद्धको ममचा पसलबाट तात्तातो ममचा पेटभरि खाएर आएका छन् । त्यसैले उनलाई भुजा खाने मन छैन ।

‘किन खानै मन छैन ?’ अघिपछि भैंसीले भुसा खाएजस्तै दुई थाल भुजा खाने श्रीमान्जीले आज खाने मन छैन भनेको सुनेर श्रीमतीजीले माया मिसिएको बोलीमा अलिकति झर्केर सोधिन् ।

‘खाने मन छैन भनेपछि फेरि स्पष्टीकरण किन चाहियो तिमीलाई ?’ यसपटक श्रीमान्जी मासँगल्लीको पीरो वासको शक्ति निकालेर पड्किए । श्रीमतीजी ४४० भोल्टको करेन्ट लागेझैं झट्किइन् र तागतहीन भएझैं चुपचाप परतिर हच्किन् ।

‘माया गर्दा ठटउकोमा टेक्नेलाई जेसुकै होस् । कुनचाहिँ छँडौलीकहाँ टन्न घिचेर आएको होला, अनि घरकी स्वास्नीको मायाको के ख्याल हुन्थ्यो !’ यसो भन्दै श्रीमतीजी भान्सातिर लागिन् । भान्सामा श्रीमान्जीको लागि भनेर मीठामीठा खानेकुरा पाकेको थियो, जसको बासनाले भान्साकोठा मगमगाइरहेको थियो । नखाएरै पनि जिभ्रोले स्वाद पाएझैं हुन्थ्यो मीठोमीठो परिकारको मीठमीठो बासनाले मीठामीठो खानेकुराको घाँस ख्वाएर एउटा सिफारिसमा श्रीमान्जीबाट तोकआदेश लाउने श्रीमतीजीको विचार थियो त्यो सब भताभुङ्ग होलाजस्तो भयो ।

श्रीमान्जीले नखाएपछि श्रीमतीजीलाई पनि खाने मूड भएन । खानेकुराहरू भाँडोमा हालेर फ्रिजमा हालिन् र बोर मानेर बेडरुमतिर लागिन् । त्यस्तो मेहनतले दिनभरि योजना गरी बनाएको खानेकुरा सब बासी हुने भयो । श्रीमतीजीलाई साह्रै नमज्जा लाग्यो । धेरै दिनपछि आज फेरि एउटा योजना बनाएको, त्यो पनि त्यसै खेर जाने भो । उनको बोल्ने मूड भएन, श्रीमान्जीको सुन्ने मूड भएन । योजना आज पनि योजना मात्रै बन्ने भयो ।

श्रीमान्जी खाटमा उत्तानो परिसकेको थियो, तर धन्य घुर्न भने थालेको रहेनछ । नत्र उनको मूड झनै खराब हुने थियो । बिहेको सुरुसुरुमा त श्रीमान्जी घुरेको सुनेर बाघै पो आएको हो कि भनेर उनी कतिचोटि त तर्सेकी पनि थिइन् । अहिले त बानी परिसक्यो, सब पचिसक्यो । तैपनि कहिलेकाहीं त मूड अफ बनाउँछ ।

श्रीमतीजी खाटको एक छेउमा टुसुक्क बसिन् । झ्याल खुल्लै रहेछ । झ्यालबाट छिरेको चिसो हावाले उनको कोमल गालामा स्पर्श गरेपछि उनले यो कुरा थाहा पाइन् ।

‘झ्याल पनि नलगाई लडेछन्’ भन्दै ढ्याम्म झ्याल लगाइन् उनले । स्वारर्र पर्दा पनि तानिन् । पर्दाको एक छेउमा दाग लागेको देखेर एक्लै फतफताइन्, ‘कुन महाशयको काम हो, पर्दाले हात पुछ्ने ।’

यसो नियालेर दाग लागेको ठाउँमा छोएर हेरिन् । दाग लागेको ठाउँ त सुकेर कटकटिएको रहेछ । अलिअलि गन्ध पनि आउँदै रहेछ । उनलाई सोच्न करै लाग्यो । त्यो त हिजो राति उनको श्रीमानजीले पुछेको दाग पो रहेछ । राति रुमाल खोज्दा नभेटेर श्रीमान्जीले उभिइउभिई त्यही पर्दाले पुछेको थियो । छ्या ! उनलाई घिन लाग्यो ।

‘हुस्सु मान्छेको चालै यस्तो, जहाँ पायो त्यहीं’ भन्दै उनी पुनः खाटमै टुसुक्क बस्न पुगिन् ।

‘ए भाँडो ल्याऊ त भाँडो ।’ श्रीमान्जीले जुरुक्क उठ्दै हतारिंदै भन्यो ।

‘कुन भाँडो ? कस्तो भाँडो ?’ श्रीमतीजीले पनि उसैगरी भनिन् ।

‘कोपरा क्या कोपरा !’

‘किन चाहियो कोपरा ?’

‘छाद आयो क्या !’

‘छाद आयो कि जाँड आयो ?’

‘छाद भने नि जाँड भने नि आउने चीज एउटै हो ।’

‘अर्थात् ?’

‘अर्थात् झोल, अर्थात् चामलको झोल ।’

‘होइन चामलको झोल । चामल कुहिएको झोल ।’

‘हो हो त्यही हो ल ।’

श्रीमतीजीले हतपत्त कोपरा थापिन् । श्रीमानजीले ह्वाललल्ल गर्दै आधा कोपरा भरिदियो । कोपराभरि–

–छाद आयो ।

– जाँड आयो ।

– छोयला आयो ।

– कचिला आयो ।

– ममचा आयो ।

– सेकुवा आयो ।

– भुटान आयो ।

– सित्तन आयो ।

सब थोक आयो । तर आउनै पर्ने कुरा आएन ।

– घुस आएन ।

– कमिसन आएन ।

– भ्रष्टाचार गरी कमाएको सम्पत्ति आएन ।

यी सबै पनि त्यसरी निस्किदिएको भए जँड्याहा मात्रै होइन, घुस्याहा भनेर पनि त प्रमाणित हुन्थ्यो । जनताले जुत्ताको माला लाइदिन्थे । तर किन यस्तो हुन्थ्यो । यो देशको माटो र हावापानी नै यस्तै छ । यहाँ यस्तै मान्छेहरू मात्रै जन्मिन्छन् । यस्तै मान्छेहरू नै ठाउँमा पुग्छन् । यस्तै मान्छेहरू नै दुई करोड सोझासीधा मान्छेहरूमाथि हैकम चलाउँछन् । अपराधी त देश हो । धोकेबाज त यो देशको माटो र हावापानी हो । यस्तै मान्छेलाई यो देशले स्वीकार्छ । यस्तै मान्छेलाई यो देशको हावापानीले घुस पचाउने शक्ति दिन्छ । कमिसन पचाउने शक्ति दिन्छ । भ्रष्टाचार लुकाउने शक्ति दिन्छ ।

एक कोपरा छादिसकेपछि उसलाई सन्चो भयो । घुस खाने मान्छेले जाँड खाएकोले हो कि, सबै बाहिरै आयो । घुस भए सायद लुक्थ्यो होला ।

‘कस्तो एकैचोटि पेट उमठिएर आ’को ।’ उसले मुख कुल्ला गर्दै भन्यो ।

‘स्वास्नीको मायाजस्तो हो त अन्तको ?’ श्रीमान्जीको कुराले श्रीमतीजीलाई फुर्किने मौका मिल्यो । यही मौकामा एकपल्ट फेरि मौका छोप्ने दाउ कसिन् श्रीमतीजीले । ‘हैन हजुरले बिर्सिनु भो कि कसो ?’

‘के कुरा ?’

‘उही जागिरको ?’

‘तिमीले किन जागिर खानु पर्‍यो ?’

‘दिनभरि घर बस्दा वाक्क आउँछ । त्यसैले कतै अल्झिन पाए टाइम पास गर्न सजिलो हुन्थ्यो ।’

‘टाइम त घरमै बसेर पनि पास हुन्छ ।’

‘कसरी ?’

‘फिल्म हेर्नु । सुत्नु । उठ्न’ । फेरि सुत्नु । लोग्नेलाई पर्खिनु । बस्, यसै गरी टाइम पास भइहाल्छ ।’

‘यत्ति नै हो त हाम्रो जिन्दगी ? लोग्नेले कमाइदिएको खानु, घर कुर्नु, फिल्म हेर्नु, सुत्नु, उठ्नु , फेरि सुत्नु, लोग्नेलाई पर्खिनु, अनि राति सधैं झैं भाँडा थाप्नु ?’

श्रीमतीजीको कुरा सुनेर श्रीमान्जीलाई हाँसो उठ्यो । श्रीमतीजीको मुख हेरेर ऊ मुस्कुरायो । ‘अनि राति सधैंझैं भाँडो थाप्नु ।’ कुन्नी के भन्न खोजेकी हुन् उसकी श्रीमतीले । कोपरा थाप्ने भनेकी हुन् कि आफ्नै भनेकी हुन् ।

श्रीमतीको कुरालाई उसले दोस्रोचाहिं अर्थ लगायो र एकपल्ट फेरि मुस्कुरायो ।

वास्तवमा अहिलेसम्म उसको लागि स्वास्नी भनेको यस्तैयस्तै थिइन्, अर्थात् भाँडो । थाप्ने र थाप्ने । खालि थाप्ने । बिहानदेखि रातिसम्म । पानीदेखि जाँडसम्म ।

– ऊ खुसी भए पनि त्यो खुसी स्वास्नीमाथि नै पोख्छ ।

– ऊ रिस उठे पनि त्यो रिस स्वास्नीमाथि नै पोख्छ ।

– र पोख्ने ठाउँ भनेको उसको स्वास्नी नै हो, अर्थात् भाँडो ।

यति मात्र कहाँ हो र ? साथीभाइसँग झगडा होस्, अफिसमा कामकुरो बिग्रियोस्, यी सबैको टेन्सन पनि स्वास्नीमाथि नै खन्याउँछ र खन्याउने ठाउँ भनेको त्यही हो, अर्थात् भाँडो ।

र उसकी स्वास्नीले पनि आजसम्म खुसी–बेखुसी सधैं चुपचाप सहँदै, स्वीकार्दै आइरहेकी छिन्–

– उसको खुसी

– उसको रिस

– उसको टेन्सन

– उसको उत्तेजना । सबै सबै ।

उसको लागि पनि घरभित्र स्वास्नी नै सबथोक हो । त्यसैले–

– उसलाई जोस जागे पनि स्वास्नी चाहिन्छ ।

– उसलाई होस् गुमे पनि स्वास्नी नै चाहिन्छ ।

– उसलाई ठण्डी भगाउन पनि स्वास्नी नै चाहिन्छ ।

– उसलाई गर्मी उतार्न पनि स्वास्नी नै चाहिन्छ ।

उसकी स्वास्नीले पनि सधैं उसलाई साथ दिंदै आइरहेकी छिन् । हुन पनि लोग्नेलाई साथ दिनु बाहेक उनको काम नै के छ र ?

– लोग्ने अफिस जान्छ । ऊनी बाई भन्छिन् ।

– लोग्ने घर आउँछ । उनी हाई भन्छिन् ।

दिनभरि घर बस्नु । मन मानेजस्तो सिँगारपटार गर्नु । ‘भरे कतिबेला आइसिन्छ’ भनेर लोग्नेसँग फोनमा तीनघण्टा बात मार्नु । अनि लोग्नेलाई पर्खिनु । यत्ति त हो उनको काम ।

करिब एक डेढ महिनाअघिको कुरा हो । उसले राति स्वास्नीलाई बेहोस हुने गरी कुटेछ । किन कुटेको भन्दा लोग्ने पनि चुप, स्वास्नी पनि चुप । पछि पो विस्तारै थाहा भो, त्यो दिन ऊ निकै जोसिएर, निकै तात्तिएर र निकै मात्तिएर आएको रहेछ । भन्नेबित्तिकै स्वास्नीले नमान्दा रिसाएर कुटेको रे ।

तीतो यथार्थ ।

मान्छेले गर्ने सारा कर्मको अन्तिम लद्य्रय त्यही हो । माया, प्रेम, अनुराग यी सबैको अन्तिम लद्य्रय पनि त्यही भाँडो नै हो । त्यसमा त्यति आकर्षण नहुँदो हो त संसारमा प्रेम भन्ने कुरो पनि नहुँदो हो ।

‘के लाटोझैं हाँसिराख्या ?

आफ्नो कुरापट्टि ध्यानै नदिएर श्रीमान्जी मुसुमुसु हाँसिरहेको देखेर श्रीमतीजीले मौनता भङ्ग गरिन् ।

‘तिमीलाई जागिरको लागि कहाँ कुरा गरुँ भनेर सोचिराख्या ।’ श्रीमानजीले पनि कुरामा कुरा मिलाई हाल्यो ।

श्रीमतीजी दङ्ग परिन्, जागिरको कुराले । ऊ पनि दङ्ग पर्‍यो स्वास्नीको खुसि देखेर ।

‘केही समय पर्ख । हतार नगर । फेरि जी.एम्. भएको महिना दिनमै स्वास्नीलाई जागिर लगायो भन्लान् अरूले ।’ उसले दुनियाँलाई विचार गरेर भन्यो ।

श्रीमतीजी झन् दङ्ग परिन् । खुसीले लोग्नेलाई ग्वामलाङ्ग अँगालो हालिन् । बिस्तारै भाँडो तात्न थाल्यो । पानी पनि उम्लिन थाल्यो । पोखिनलाई हतार भयो ।

–श्रीमतीजी भाँडो थाप्न बसिन् ।

– श्रीमानजी धारो खोलेर उभियो ।

अनि बत्ती झ्याप्प निभ्यो ।

ad imagead image
ad imagead imagead imagead image ad imagead imagead imagead imagead image